पाँचथर। पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका–५ प्राङबुङमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा प्राकृतिक प्रकोप र विपदका घटनाको पूर्वसूचना दिने साइरन जडान गरिएको छ ।
बाढी, पहिरो र भारी वर्षा हुनेबारे पूर्वसूचना दिने र सम्बन्धित क्षेत्रका नागरिकलाई सुरक्षित रहन मद्दत पुर्याउने उद्देश्यले साइरन जडान गरिएको हो ।
सम्भावित विपदको पूर्वजानकारी पाउँदा जनधनको क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । साइरन जडान गर्न फिनिस रेडक्रसको ७ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरमार्फत फालेलुङमा सञ्चालन भइरहेको रेडी परियोजनाअन्तर्गत यो साइरन जोडिएको हो । साइरन जडानका लागि रेडक्रससँग फालेलुङ–५ वडा कार्यालयले औपचारिक अनुरोध गरेको थियो । जसलाई अनुमोदन गर्दै गाउँ कार्यपालिका बैठकले सिफारिस गरेपछि जडानको प्रक्रिया अगाडि बढेको गाउँपालिले जनाएको छ ।