काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारको उच्च प्राथमिकतामा सडक सुरक्षा रहेको बताएका छन् । उनले सडक सुरक्षा ऐन निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी दिए ।
मन्त्री दाहालले यातायात व्यवस्थापनका लागि सूचना प्रविधिको उपयोग बढाउनुपर्नेमा जोड दिएका छन्। काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनसम्बन्धी आज आयोजित कार्यक्रममा उनले प्रविधिमा आएको विकास र परिवर्तनबाट नेपालले लाभ लिन सक्नुपर्ने बताए। छिटोछरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन नवीन प्रविधि र शैलीलाई अनुसरण गर्नुपर्ने मन्त्री दाहालको भनाइ छ ।
अब परम्परागत रूपबाट मात्र काम गरेर स्तरीय सेवा प्रवाह गराउन सकिने अवस्था नरहेको भन्दै मन्त्री दाहालले प्रविधिमा आएको विकास र रुपान्तरणलाई उपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।
यातायात व्यवस्थापनका लागि कुनै एक मन्त्रालय र निकायको पहल र प्रयास मात्र पर्याप्त नहुने भन्दै मन्त्री दाहालले अन्तरनिकाय सम्बन्ध र सहकार्यलाई बढाउनु सक्नु बताए ।