काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वजलस्रोत राज्यमन्त्री पूर्णबहादुर तामाङको निर्माण कम्पनी ‘कान्छाराम कन्स्ट्रक्शन’ लाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ । वीरेन्द्रनगर योजना क्षेत्र शहरी सडक अन्तर्गतको सडक स्तरोन्नतिमा लापर्बाही गरेको भन्दै ‘कान्छाराम कन्स्ट्रक्शन’ लाई कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास निर्देशनालयले कालोसूचीमा राख्न सिफारिस गरेको हो।
सडक स्तरोन्नतिको काम समयमा सम्पन्न नगरेको, पटक–पटक सम्झौता म्याद थप हुँदाहुँदै समेत कार्य नगरेको भन्दै पूर्वाधार विकास निर्देशनालयले कालोसूचीमा राख्ने निर्णय गरेको छ ।
२०७९ मंसिर २० मा सम्पन्न हुनुपर्ने सडकहरु सम्पन्न हुन नसकेपछि कालोसूचीमा राख्ने निर्णय लिइएको हो । तीनपृष्ठे पत्रमा निर्देशनालयले सार्वजनिक खरिद ऐन २०६३ र नियमावली, २०६४ अनुसारको प्रक्रिया पूरा गर्दै कम्पनीलाई कालोसूचीमा सिफारिस गरिएको जनाएको छ ।
सम्झौता भएदेखि हालसम्म कामको प्रगति नदेखिएको, निर्माणस्थलमा पर्याप्त स्रोतसाधन नपठाएको, इन्जिनियरको सुपरीवेक्षणमा समेत कार्य नगरेको, दैनिक प्रगति प्रतिवेदन नदिएको र ठेक्का नियमावलीको धारा १११ क को उल्लंघन गरेको स्पष्ट देखिएको भन्दै निर्माण निर्देशनालयले सिफारिस गरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालय (एएइ) ले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ।