काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार मेयर थापा, विमल कुमार पोखरेल र सागर पौडेल उनीहरू तीन जनाले बागमती नगरपालिकामा भरत ताल निर्माण गर्न भ्रष्टाचार गरेको ठहर भएको हो।
अदालतका अनुसार, मेयर थापाले नदीजन्य पदार्थको बिक्रीबाट ३० करोड २९ लाख रुपैयाँभन्दा बढीको नोक्सानी पुर्याएको प्रमाणित भएको छ । यस कसुरमा दोषी ठहर भएपछि उनलाई सजाय निर्धारणका लागि साउन २९ गते पेसी तोकिएको छ ।
गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा पनि थापा दोषी देखिएका छन् । उनको कुल आम्दानी ९ करोड १४ लाख भएपनि खर्च १२ करोड ५९ लाख देखिएको थियो ।
यसबाट उनले ३ करोड ४५ लाख रुपैयाँभन्दा बढीको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको छ । यस मुद्दामा उनलाई एक वर्ष कैद र त्यति नै बराबरको जरिवानासहित गैरकानूनी सम्पत्ति जफत गर्ने फैसला अदालतले सुनाएको छ ।