एजेन्सी। अष्ट्रेलियामा सन् २०२५ को दोस्रो त्रैमासिकमा विद्युतीय सवारीसाधनको बिक्री ६० प्रतिशतभन्दा बढीले वृद्धि भई अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बिहीबार अष्ट्रेलियाको सबैभन्दा ठूलो मोटर यातायात सम्बन्धी गैरसरकारी संस्थाले प्रकाशित गरेको प्रतिवेदन अनुसार अप्रिलदेखि जुन महिनाको अवधिमा अष्ट्रेलियालीहरूले २९ हजार २४४ नयाँ ब्याट्रीचालित सवारीसाधन किनेका छन् ।
यो सङ्ख्या अघिल्लो त्रैमासिकमा बिक्री भएका १७ हजार ९०१ सवारीसाधनको तुलनामा ६३.३ प्रतिशतले बढी हो । यसले अघिल्लो कीर्तिमान—सन् २०२३ को दोस्रो त्रैमासिकमा भएको २५ हजार ६९६ को बिक्रीलाई पनि पार गरेको छ ।
संस्थाले जनाएअनुसार, सन् २०२५ को दोस्रो त्रैमासिकमा नयाँ हल्का सवारीसाधनमा विद्युतीय सवारीसाधनको बजार हिस्सा ९.३ प्रतिशत पुगेको छ, जुन पहिलो त्रैमासिकको ६.२ प्रतिशतबाट उल्लेखनीय वृद्धि हो र नयाँ कीर्तिमान पनि हो ।
यसैबीच, इन्धनबाट चल्ने सवारीसाधनको बजार हिस्सा लगातार घट्दै गएको छ । सन् २०२३ को पहिलो त्रैमासिकमा ८६.४ प्रतिशत रहेको हिस्सा सन् २०२५ को दोस्रो त्रैमासिकमा घटेर ७२.०३ प्रतिशतमा झरेको छ ।