काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार लगिएको छ। आज रुपन्देहीबाट काठमाडौं विमानस्थल हुँदै लामिछानेलाई कारागारतर्फ लगिएको हो।
लामिछानेका समर्थक त्रिभुवन विमानस्थल अगाडि जम्मा भएर बसेका थिए। तर, उनलाई आयल निगमबाट निकालिएर नख्खु लगिएको हो।
यता ललितपुरको नख्खु कारागारमा पनि रविका समर्थकहरू जम्मा भएका छन् । उनीहरूले लामिछानेको पक्षमा प्रतिशोध भएको भन्दै नाराबाजी गरिरहेका छन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए । उनलाई कारागार व्यवस्थापन विभागको निर्णय अनुसार आज नख्खु ल्याइएको हो ।