धनगढी । कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही भदौ २८ गते निर्वाचन हुँदै छ। निर्वाचनका लागि दिनहुँ चुनावी माहोल तात्न थालेको छ।
संघका वर्तमान वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझा र पूर्वमहासचिव रुपेस स्वाँर नेतृत्वका लागि टिमसहित चुनावी प्रतिस्पर्धामा देखिएका छन्।
यहीबीच केही व्यवसायी असन्तुष्ट पनि देखिएका छन्। त्यस्ता व्यक्तिहरूले आफ्नो स्वतन्त्र उम्मेद्वारी घोषणासमेत गरिरहेका छन्। तिनै मध्यकि एक हुन् कोपिला कुँवर। उनले सचिव पदमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेकी छन्।
उनी धनगढी–४ गोलमार्केट (बसपार्क)स्थित न्यू कोपिला शुज सेन्टरकी सञ्चालक हुन्। कुँवरले यसअघि कैलाली उद्योग वाणिज्य संघमा दुई कार्यकाल सदस्य पदमा रहेर काम गरिसकेकी छन्।
उनले महिलाहरूलाई पदाधिकारीमा प्रतिस्पर्धा गराउन नचाहने पुरुष मानसिकताविरुद्ध आफ्नो उम्मेदवारी भएको बताएकी छन्।