रुकुम पश्चिम । रूकुम पश्चिमको मुसीकोट नगरपालिकाले बजार क्षेत्रमा बनेका मापदण्डविपरीतका अस्थायी संरचना हटाउन थालेको छ । मुसिकोट नगरपालिकाले मुख्य बजार क्षेत्रअन्तर्गत सल्ले, खलंगा र सेरिगाउँको मूल सडकको दायाँबायाँ बनाइएका अस्थायी संरचना हटाउन थालेको हो ।
गत जेठ २१ गते कार्यपालिकाको बैठक बसी नगरप्रमुख, उपप्रमुख र १२ नं.वडाका अध्यक्ष रहेको ३ सदस्यीय समिति गठन गरी स्थानीय प्रशासनसागको समन्वयमा यस्ता संरचना हटाउने निर्णय भएको थियो । सोही निर्णयअनुसार कार्यन्वयनमा गएको नगर प्रमुख महेन्द्र केसीले बताए ।
गत साउन पहिलो साता सार्वजनिक सूचना जारी गरी बजार क्षेत्रमा बनाइएका अस्थायी संरचनाहरू हटाउन एक महिनाको समय नगरपालिकाले दिएको थियो । तर उक्त अवधिभित्र संरचना नहटाउनेलाई नगरपालिकाले बल प्रयोग गरी संरचना हटाउने चेतावनी दिएको छ । त्यसपछि भने ती संरचना बनाएकाहरू आफैले हटाउन थालेका छन् ।