कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा ५२ घर र सशस्त्र प्रहरीका दुई वटा बिओपी डुबानमा परेका छन् ।
दोधारा चाँदनी नगरपालिका–८ स्थित रामपुरे टापु र गर्जा टोलका २५ घर डुबानमा परेका छन् । डुबानमा परेका २५ घरपरिवारका ७० जनालाई नजिकैको जनज्योति माविमा सारिएको छ ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका–३ स्थित पटराखल्लामा जोगबुढा नदीको बाँध भत्किएर बाढी बस्तीमा पस्दा १५ घर डुबानमा परेका छन् । डुबानमा परेका १५ घरपरिवारका ५५ जनालाई सरसामान र चौपायासहित नजिकैको जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको छ । वडा नं १० शान्तिनगरका डुबानमा परेका १२ घरपरिवारका ४० जनालाई वडा–९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ ।
त्यसैगरी दोधारा चाँदनी नगरपालिका–१० र ७ स्थित सशस्त्र प्रहरीको बिओपी समेत डुबानमा परेको छ । बिओपीमा कार्यरत २३ सशस्त्र प्रहरीलाई ओमकार आधारभूत विद्यालयमा राखिएको छ । वडा नं ७ स्थित कञ्जभोजमा रहेको सशस्त्र प्रहरीको बिओपी समेत डुबानमा परेको प्रहरीले जनाएको छ । उक्त बिओपीका कार्यरत ३० जना सशस्त्र प्रहरीलाई सहरी खोप केन्द्रको भवनमा राखिएको सारिएको छ ।