काठमाडौं। ठूला ठूला आयोजनाहरुको निर्माणका लागि ठेक्का लिने र समयमा पूरा नगर्ने निर्माण व्यवसायीहरुको संस्कार नै बन्दै आएको छ। निर्माण व्यवसायीहरुको लापरबाहीका कारण देशका ठूला ठूलो आयोजनाहरु वर्षौँदेखि अलपत्र छन्। पटक पटक म्याद थप गर्दा समेत काम पूरा नहुने गरेको छ।
ठूला आयोजनामा मात्र नभएर साना साना सडक, पुल, भवन लगायतमा समेत निर्माण व्यवसायीले लापरबाही गर्ने गरेका छन्। धेरै ठाउँको ठेक्का हात पार्ने र काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीको आदत नै बनिसकेको देखिन्छ।
यसो भन्दैमा सबै निर्माण व्यवसायीले काम ढिलो गर्छन, लापरबाही गर्छन भन्ने होइन्। केही यस्ता उदाहरणीय निर्माण व्यवसायी पनि छन् जसले समय अगावै निर्माण कार्य पूरा गरेका छन्। तर यसरी समय अघि नै निर्माण पूरा गर्ने कम्पनी भने विरलै मात्र छन्।
त्यसैगरी सबै ठाउँको निर्माण ढिला हुनुमा निर्माण व्यवसायी मात्र दोषी हुन् भन्न पनि मिल्दैन। स्थानीयबासीको अवरोध, समयमा भुक्तानी नहुनु, निर्माण कार्यमा सम्बन्धीत निकायहरुबीच समन्वयको अभाव हुनु, विभिन्न प्राविधिक कारणले पनि काममा ढिलो भएको हुन सक्छ। तर देशभर अलपत्र परेका धेरै जसो निर्माण कार्यमा भने निर्माण व्यवसायीकै लापरबाही देखिन्छ। व्यवसायीहरुले लापरबाही र वेवास्ता गरेकै कारण आयोजना वर्षौँदेखि अलपत्र अवस्थामा रहने र त्यसको सास्ती सर्वसाधारण नगरिकले खेप्दै आइरहेका छन्।
पछिल्लो समय निर्माण आयोजनाहरुले यस विषयमा कडाइका साथ कदम चालेको देखिएको छ। निर्माण कार्य कस्को कारणले ढिलाइ भइरहेको पत्ता लगाउने, अन्य कारण भए समाधान गरेर अघि बढ्ने, निर्माण व्यवसायी कारण भए चेतावनी सहित अल्टिमेटम दिने र दिइएको अल्टिमेटमा समेत काम पूरा नभएमा ठेक्का सम्झौता तोडिन थालेका छन्।
बागमती पुलको निर्माण कम्पनीसँगको ठेक्का तोडियो
रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वास्थित बागमती नदीमा निर्माणाधीन पुलको निर्माण कम्पनीसँगको ठेक्का तोडिएको छ। हुलाकी राजमार्गअन्तर्गतको बागमती नदीको पुल ११ वर्षदेखि निर्माण शुरु गरेर अलपत्र पार्ने कम्पनीसँगको ठेक्क तोडिएको हो।
हुलाकी सडक आयोजनाले पुल निर्माण पूरा गर्न पुरानो ठेक्का रद्द गरी ८० करोड रुपैयाँको लागत अनुमानसहित नयाँ ठेक्का आह्वान गरेको छ ।
यसअघि ठेक्का लिएको लुम्बिनी बिल्डर्स प्रालिले पुलको पिलर मात्र बनाएर छाडेको थियो । ३५ करोड ८९ लाख ९ हजार ४ सय ३३ रुपैयाँमा ठेक्का सकार गरेको लुम्बिनीले २०७० जेठ ३० मा निर्माण सक्ने गरी २०६७ जेठ ३१ मा सम्झौता गरेको थियो ।
ठेक्का लुम्बिनीले लिए पनि सम्पूर्ण कामको जिम्मा पप्पु कन्स्ट्रक्सनले लिएको थियो । निर्माणकै क्रममा नदीले धार बदलेपछि पप्पुले २०७० मै काम बन्द गरेको थियो । पुल बन्न लागेको भन्दा करिब ८ सय मिटर पूर्वबाट नदी बग्न थालेपछि हुलाकी सडक आयोजनाले पनि निर्माणको काम रोकेको थियो ।
अहिले पुलको प्राविधिक डिजाइन परिवर्तन गरेर स्पान थप्ने, नदी नियन्त्रणको काम, पुलको अप्रोच सडक बनाउने, बिम ढलान गर्नेलगायतको काम नयाँ ठेक्कामार्फत हुने बताइएको छ । निरन्तर काम गर्यो भने आगामी २ वर्षमा पुल निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको बताइएको छ।
दार्चुला–टिंकर सडकको ठेक्का तोडियो
निर्माण कार्यमा लापरबाही गरेपछि दार्चुला–टिंकर सडकको ठेक्का तोडिएको छ। महाकाली नदी किनारै किनार निर्माणाधीन महाकाली करिडोरअन्तर्गत यस सडकमा अमर–सूर्य जेभी कम्पनीसँगको ठेक्का तोडिएको हो।
यस सडकखण्डको माल–घाटीबगर, कोठेधार र राप्लामा काम गर्ने अमर–सूर्य जेभीका ठेकेदारले ठेक्काको ६ पटक म्याद थप गर्दा समेत निर्माणमा अटेरी गरेपछि ठेक्का तोड्नु परेको महाकाली करिडोरको बह्मदेव–झुलाघाट–दार्चुला–टिंकर सडक योजनाले जनाएको छ। आयोजनाका अनुसार २०७० असार २३ मा सम्झौता भएको दार्चुला–टिंकर सडकमा ९ वर्षमा तीन किलोमिटर मात्र सडकको ट्र्याक खोलिएको छ।
यस कम्पनीलाई दुई वर्षका लागि कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको समेत आयोजनाले जनाएको छ। काममा लापरबाही गर्ने अन्य निर्माण व्यवसायीको पनि सडक योजनाले ठेक्का तोड्न शुरु गरेको छ ।
थप गरिएको समय काम नसकिए ठेक्का सम्झौता तोड्ने चेतावनी
कैलालीको भजनी नगरपालिकामा रहेको कान्द्रा नदीको पुल आठ वर्षदेखि अलपत्र अवस्थामा छ। चार वर्षमा सक्ने सम्झौता भइ निर्माण शुरु गरिएको पुल ८ वर्षमा पनि सम्पन्न नभएको हो।
निर्माण व्यवसायीको लापरबाहीका कारण पुल बन्न नसकेको हुलाकी सडक आयोजनाले जनाएको छ। पुलको एउटा पिल्लरको डिजाईन परिवर्तन गरिनु पर्ने भएपछि सडक आयोजनाले नै एक वर्ष म्याद थप गरेको तर त्यस समयमा निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न नसकेको आयोजनाको भनाइ छ। त्यसपछि दुई पटक म्याद थप गर्दा समेत पुल निर्माण कार्य पूरा हुन सकेको छैन।
०७१ सालमा हुलाली सडक आयोजना र लामा, साल्पा छर्पा कन्ट्रक्सन जेभिबीच चार वर्षमा पुल निर्माण गरीसक्ने गरी सम्झौता भएको थियो। चार करोड ४२ लाखमा ठेक्का पाएका भएको पुल असार ०७५ सम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने सम्झौता भएको थियो।
तोकिएको मितिमा पुल नबनेपछि अन्तिम पटकका लागि चैत ०७८ सम्मका लागि पुल निर्माण म्याद थप गरेको छ। सो समयमा पुल निर्माण नभए ठेक्का सम्झौता तोडिने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अगाडि बढाइने बताइएको छ।
समयमै काम नसके कारबाही गर्ने मुख्यमन्त्री भट्टको चेतावनी
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिलगढी–बग्लेक सडक कालोपत्रको काम समयमै सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन्।
केही दिन अघि मात्र डोटी पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–बग्लेक सडक अनुगमन तथा निरीक्षणका लागि पुगेका मुख्यमन्त्री भट्टले तोकिएको समयमा कालोपत्रको काम नसकिए कारबाही गर्ने चेतावनी दिएका हुन्।
उनले भने, ‘अहिले कोरोनाको समस्या खासै छैन, तोकिएको समयमा काम सक्नुस्, बहानाबाजी गर्न पाइँदैन, काम नसके कारबाही हुन्छ।’
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटकको सजिलोका लागि तथा यहाँका नागरिकको आयस्तर वृद्धिका लागि उक्त सडक कालोपत्र गर्न बजेट विनियोजन भएकाले काममा ढिलो नगर्न मुख्यमन्त्री भट्टले आग्रह गरेका छन्।
यसरी नै जनप्रतिनिधिले आफ्नो क्षेत्रको निर्माण कार्यमा चासो दिने, निर्माण कार्यमा ढिलाइ हुनुको कारण पत्ता लगाएर केही समस्या भए समाधान गरिदिने, निर्माण कम्पनीले लापरबाही गरेको भए आवश्यक कदम अघि बढाउने हो भने पनि निर्माण कार्यमा हुने ढिलाई धेरै हदसम्म कम हुने थियो। निर्माण व्यवसायीलाई पटक पटक अवसर दिँदा पनि वेवास्ता गरेमा यी माथिका केही आयोजनाले झैँ ठेक्का सम्झौता नै तोडेर पनि अघि बढाउँदा पनि निर्माण व्यवसायीहरु समयमै सचेत हुने थिए। जसले गर्दा निर्माण कार्यमा सँधै हुने ढिलाई कम हुने थियो। यस विषयमा निर्माण व्यवसायी, स्थानीय, जनप्रतिनिधि, आयोजना लगायत सबै सम्बन्धीत क्षेत्रबाट ध्यान दिनु पर्ने देखिन्छ।