काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले राप्तिसोनारी–नरैनापुर खण्डमा राप्ति नदी तटबन्धनका लागि पछिल्ला तीन वर्षमा २३ अर्ब रुपैयाँभन्दा बढी विनियोजन भएको जानकारी दिएका छन्।
प्रतिनिधिसभामा सांसद सूर्य प्रसाद ढकालको प्रश्नको जवाफ दिँदै उनले भारत सरकार, एडीबी र नेपाल सरकारमार्फत तीन वर्षमा २३ अर्ब बढी विनियोजन भएको जानकारी गराएका हुन् ।
भारत सरकारले ३५.०३ करोड, एडीबीले १४३.९८ करोड र नेपाल सरकारले ४१.९५ करोड रुपैयाँ छुट्याएको बताए। तीन वर्षदेखि नेपाल–भारतबीच बाढी तथा डुबानसम्बन्धी बैठक नबसेकाले भारतीय अनुदान रकम खर्च हुन नसकेको पनि उनले उल्लेख गरे।
चालू आर्थिक वर्ष २०८२र८३ मा मात्रै भारत सरकारले २०.५० करोड, एडीबीले ३७.६६ करोड र नेपाल सरकारले १२.८६ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए।
दीर्घकालीन समाधानका लागि बबई नदी, सहायक नदीहरू, पश्चिम राप्ति दाङ खण्ड र बाँके खण्डका नदीहरूको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरी चरणबद्ध कार्यान्वयनमा लैजाने योजना रहेको उनको भनाइ छ।