कञ्चनपुर । दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहको शिलान्यास प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला हुने भएको छ । आज नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा गृहमन्त्री रमेश लेखकले यस्तो जानकारी दिएका हुन् ।
उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने बताए ।
उनले भने “दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ। यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ ।”
कार्यक्रममा उनले कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षति बनेको दाबी समेत गरे । “महाकाली नदीमा देशकै ठूलो पक्की पुल बनेकाले यहाँ अस्पताल र क्याम्पस बनेका छन्”, गृहमन्त्री लेखकले भने, “जोगबुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।”