वोलङ्गन । वोलङ्गनमा दुई सय भन्दा बढी नेपालीहरू भेला भएर, नेपालमा ८ सेप्टेम्बरमा भएको जेनजी युवाको आन्दोलनमा मारिएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
कार्यक्रममा सहभागीहरूले २ वर्षदेखि ७० वर्ष उमेरका व्यक्तिहरू सम्मिलित भएर आफ्नै घरबाट ल्याएका मैनबत्ती प्रज्वलन गरी श्रद्धाञ्जली दिएका हुन् । उपस्थित सबैले एक मिनेट मौन धारण गरेर शहीदहरूको आत्माको चिरशान्तिको कामना गरेका छन् ।
कार्यक्रममा सहभागीहरूले केपी ओली र एमालेको सरकारले गराएको निर्दयी दमनलाई नेपालको इतिहासकै सबैभन्दा दुःखद र निन्दनीय घटना भन्दै कडा शब्दमा विरोध गरे। उनीहरूले यस्तो कार्यले मानव अधिकारको खुल्लमखुल्ला उल्लङ्घन गरेको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघमा समेत सामूहिक रूपमा इमेल पठाएको जानकारी दिएका थिए।
स्थानीय युवा समूह, सागर आचार्य, सफल कार्की, सुजन खतिवडा, आशिष पौडेललगायत थुप्रै युवाहरूको सक्रिय नेतृत्वमा कार्यक्रमको आयोजना गरिएको हो।