झापा । पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार चोरी गरेको आरोपमा झापाबाट पाँच जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका–५ नकलबन्दाबाट अप्टिकल फाइबर भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो।
तार चोरी गरी लैजादै गरेको शंका लागेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला पानिट्याङकी बस्ने २४ वर्षीय कार्तिक अधिकारी, ३४ वर्षीय राहुल अधिकारी, झापा बुद्धशान्ती गाउँपालिका सितलवस्ती बस्ने २५ वर्षीय विजय राजवंशी, इलाम माई नगरपालिका–३ जौबारी बस्ने २७ वर्षीय दिनेश परियार र झापा कचनकबल गाउँपालिका–३ डाँगीबारी बस्ने ४२ वर्षीय सञ्जय माझी रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।