काठमाडौं । सहरी विकास मन्त्री कुलमान घिसिङले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नति छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । मन्त्री घिसिङले बिहीबार स्थलगत निरीक्षणपछि स्तरोन्नतिको पहिलो चरणको काम अन्तिम चरणमा पुगेको पनि जानकारी दिए ।
उनका अनुसार मैदानमा प्यारापिट निर्माण अन्तिम चरणमा पुगेको छ । साथै ६ वटा फ्लडलाइट जडान एक महिनाभित्र सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।
“पहिलो चरणको काम अन्तिम चरणमा पुगेको छ । फ्लडलाइट राख्ने काम सकिएको छ,” मन्त्री घिसिङले भने, “नेपाल प्रिमियर लिग (एनपिएल) सुरु हुनुअघि पहिलो चरणको काम पूरा गरी झण्डै १२ हजार दर्शक अटाउन सक्ने गरी तयार हुनेछ ।”
उनका अनुसार दोस्रो चरणको काम सम्पन्न भएपछि मैदानमा करिब ३० हजार दर्शक बस्न सक्ने क्षमता हुनेछ । “यो देशको महत्वपूर्ण क्रिकेट मैदान हो, अब दोस्रो र तेस्रो चरणको कामलाई पनि अगाडि बढाउने गरी डिजाइन सकिएको छ,” मन्त्री घिसिङले भने ।