काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुनःनिर्माण गर्न बजेट रकमान्तर गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीवारको बैठकले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको सार्वजनिक संरचनाको क्षतिको पुनःनिर्माण, मर्मतसम्भार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुनरुत्थान र सार्वजनिक सेवा सञ्चालन गर्नका लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न बजेट रकमान्तर गर्ने निर्णय गरेको हो ।
आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले प्रतिनिधिसभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपद्बाट उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न पनि बजेट रकमान्तर गर्ने निर्णय गरेको जानकारी दिए ।
सार्वजनिक आर्थिक व्यवस्थापनको सबलीकरण र सेवा प्रवाहको प्रभावकारितासम्बन्धी कार्यक्रमका लागि एसियाली विकास बैंकबाट १०० मिलियन अमेरिकी डलर बजेटरी सहायताका रूपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्ने वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय पनि भएको मन्त्री खरेलले जानकारी दिए । आगामी कात्तिक ३ गतेदेखि ५ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने संयुक्त राष्ट्र«सङ्घीय व्यापार र विकाससम्बन्धी १६ औँ सभामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई स्वीकृति दिने निर्णय पनि भएको छ ।