इलाम । भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रमा तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइने बताएका छन् । आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि मन्त्री घिसिङले सरकार प्रभावित नागरिकसँगै रहेको भन्दै तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइने बताएका हुन् ।
रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली आइपुगेका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिएका छन् । उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन्। गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।