काठमाडौं। नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक परिमाण कोटा बढाएको छ। शुक्रबार राष्ट्र बैंकले एकीकृत परिपत्र संशोधन गर्दै २० किलो दैनिक आयात गर्न मिल्ने सुनको परिमाणलाई २५ किलो पुर्याएको हो ।
बजारमा सुनको माग बढेसँगै केन्द्रीय बैंकले आयात परिमाण बढाएको हो । सुनको मूल्यमा आएको निरन्तर वृद्धिले लगानीकर्ता सुन तर्फ आकर्षित भएसँगै सुनको माग बढेको छ।
त्यसैगरी, विदेशबाट आउने रेमिट्यान्स सम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ। अब नेपाली वा विदेशी नागरिक तथा नेपालमा दर्ता भएका फर्मरकम्पनीरसंस्थारशाखा कार्यालयले बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका विभिन्न प्रयोजनका लागि विदेशबाट प्राप्त हुने र फिर्ता गर्नु नपर्ने रकम इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीमार्फत सम्बन्धित बेनेफिसियरीको खातामा जम्मा गर्दा दैनिक २५ लाख रुपैयाँसम्म भुक्तानी गर्न सकिनेछ।
पहिले यो सीमा २० लाख रुपैयाँ रहेको थियो। यसरी रकम सङ्कलन र भुक्तानी गर्दा प्रचलित व्यवस्थाबमोजिम ग्राहक पहिचानका कागजातहरू लिनुपर्नेछ।
नेपाल भित्रिएको विप्रेषणको विवरण अनुसूची २४.४ को ढाँचामा मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विभाग, सम्बन्धित सुपरिवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा पेस गर्नुपर्नेछ।