काठमाडौं । नेपाल प्रहरीले सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने चाड तिहारमा आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा प्रहरीलाई तत्काल खबर गर्न आग्रह गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले आज एक सूचना जारी गरी चाडपर्वलाई अपराधरहित बनाई हर्षोल्लासपूर्वक मनाउन आफ्नो घर र समुदायमा कुनै अवाञ्छित गतिविधि देखिएमा तत्कालै प्रहरी कन्ट्रोल नम्बर १०० मा खबर गर्न सबैलाई आग्रह गरेको हो ।
परिसरले आफ्नो चिनाजानी भएको स्थानमा मर्यादित एवं सभ्य तवरले देउसीभैलो खेल्न, आफ्नो टोलमा तास, जुवा खेल्ने व्यक्तिहरूबारे प्रहरीलाई समयमै खबर गर्नसमेत आग्रह गरेको छ ।
पटाका तथा झिरझिरे पड्काउने व्यक्तिमाथि मुलुकी अपराध संहिता २०७४ को विस्फोटक पदार्थसम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुने भएकाले त्यसो नगर्न भनेको छ ।
यसैगरी, नगद, बहुमूल्य सामान र गरगहना सकेसम्म लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्न, लागुऔषध, नशालु पदार्थ सेवन, ओसारपसार, सञ्चय तथा बेचबिखन गर्ने व्यक्तिबारे प्रहरीलाई खबर गर्न सबैमा अनुरोध गरेको छ ।
यस्तै, छतमा चढेर यात्रा नगर्न, यात्रा गर्ने क्रममा कुनै पनि अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, नचिनेको व्यक्तिले घरको ढोका ढक्ढकाएमा नखोल्न, आफ्नो घर, टोल, छिमेकमा आपत्कालीन साइरन र सिसीटिभी क्यामेरा जडान गर्नसमेत सबैलाई आग्रह गरेको छ ।