काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आज साँझ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विस्तृत अनुगमन तथा निरीक्षण गरेका छन् । गत भदौ २४ गते जेनजी युवाहरूको आन्दोलनका क्रममा आगजनीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको ट्राफिक प्रहरी कार्यालयमा अहिले नयाँ संरचनासहित पुनर्निर्माण गरिएको छ ।
गृहमन्त्री अर्यालले पुनर्निर्माण गरिएका संरचनाको अवलोकन गर्नुका साथै त्यहाँको कार्यप्रवाहबारे जानकारी लिए। निरीक्षणका क्रममा उनले उपत्यका ट्राफिक प्रहरीले असामान्य परिस्थितिमा पनि सेवा अवरोध हुन नदिन गरेको निरन्तर प्रयासको प्रशंसा गरे ।
आगजनीपछि ट्राफिक प्रहरी कार्यालय र कार्यसम्पादनमा परेको प्रतिकूल प्रभावका बाबजुद संरचना छिटो पुनर्निर्माण सम्पन्न गर्न निजी क्षेत्र र नागरिक समाजको सामूहिक योगदान रहेको उल्लेख गर्दै उनले सबै सहयोगकर्तालाई धन्यवादसमेत व्यक्त गरे ।
उनले भने, “आन्दोलनका क्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयसहितका प्रहरी संरचनामा ठूलो क्षति पुगेको थियो । तर खुसीको कुरा सबै क्षेत्रबाट प्राप्त सहयोगका कारण आज ती संरचना पुनर्निर्माण भई प्रहरी सङ्गठन पुनः उभिन सक्षम बनेको छ । सरकार यसका लागि आभारी छ ।”