काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले अस्तित्वमै नभएको तीन तले पक्की घरको नक्कली नक्सा बनाई बैंकबाट ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उपाध्यक्ष नाथले आफ्नै नाममा दर्ता रहेको जग्गामा कुनै भवन नभए पनि सेती कन्सल्टेन्सीमार्फत ग्राउन्ड फ्लोरदेखि दोस्रो तलासम्मको सुविधासहितको ३ तले पक्की घर भएको भनी झुट्टा नक्सा तयार गराइन् ।
सोही नक्कली नक्सा पास गराएर उनले लक्ष्मी सनराइज बैंक कञ्चनपुर शाखाबाट २०७८–७९ सालमा गरी कुल ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएको पुष्टि भएको छ ।
अख्तियारले स्थलगत अनुगमन गर्दा उक्त जग्गामा एक इट्टासम्म नचिनिएको पाइएको थियो ।
नक्सा पास गर्ने क्रममा गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब–इन्जिनियर जय कुँवर, र असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनारले ‘भवन नभएको जग्गामा पक्की घर छ’ भनी झुट्टा अभिलेखीकरण गरी मिलेमतो गरेको अख्तियारको ठहर छ ।
अख्तियारले उपाध्यक्ष नाथविरुद्ध मुख्य कसुरदार बराबर सजाय र अन्य कर्मचारीविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय मागदाबी गरेको छ ।