काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ महानगरपालिकाले सम्पादन गरेका काम, प्रवाह गरेको सेवा र विस्तार गरेको सम्बन्धबाट स्थानीय सरकारका रुपमा आफ्नो जिम्मेवारीबोधलाई उजागर गरेको तथा आर्थिक, सामाजिक, भौतिक विकास र सहरी व्यवस्थापनमा देखाएको नविनपना र सक्रियता प्रशंसनीय रहेको बताएका छन् ।
राष्ट्रपति पौडेलले ३१ औँ महानगर दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली, हरियाली प्रवर्धनसहित प्राकृतिक सम्पदा, मठमन्दिर, तलाउ, पोखरी, ढुङ्गेधारा, भौतिक सम्पदाको अस्तित्व पुनःस्थापना, एकीकृत सहरी विकासको प्रयास महानगरपालिकाका उदाहरणीय काम भएको बताए ।
साथै उनले विद्युतीय शासनमा सूचना सञ्चार तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग, एकीकृत प्रणालीबाट पारदर्शी एवं उत्तरदायी सेवाका लागि एकल सेवा केन्द्र सञ्चालन, गुनासो व्यवस्थापन प्रणालीलाई प्राथमिकता दिनुले महानगरपालिकालाई नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र सेवाग्राहीमैत्री बनाएको बताए ।
उनले भने, ‘यसले नागरिकको आँगनको सरकार स्थानीय शासनका लागि सवल भएको सन्देश दिएको छ ।’
काठमाडौं, नेपालको राजनीतिक परिवर्तन तथा शासकीय व्यवस्था रुपान्तरणको अनुभूति गर्ने सहर पनि भएकाले यो महानगरले अख्तियार गर्ने नीति, योजना, काम र कार्यक्रम मात्र होइन यसका भोगाइ तथा सिकाइ अन्य पालिकाका लागि उदाहरणीय हुने धारणा उनले व्यक्त गरे ।
उनले भने, ‘त्यसैले, तपाईँहरूले काम गर्दा सदैव उत्कृष्ट नीति, कार्यक्रम र योजना प्रस्तुत गर्न कुनै कसर बाँकी राख्नुहुने छैन भन्ने मैले विश्वास लिएको छु ।’
सो अवसरमा राष्ट्रपति पौडेलले इतिहास र संस्कृतिको बेजोड संगमका रुपमा रहेको राजधानीस्थित आधुनिक समयका महानगरवासीको आवश्यकता, चाहना र सपना सम्बोधन गर्ने गुरुत्तर दायित्व निर्वाहमा काठमाडौ महानगरपालिकाले आगामी दिनमा अझ प्रभावकारी ढङ्गले काम गर्नै विश्वास व्यक्त गरे ।