चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहालले क्यामेरा जडानको कामको आज एक समारोहका बीच शुभारम्भ गरे। महानगरपालिका २९ वडाका मुख्य–मुख्य चोकमा क्यामेरा जडानको काम सुरु गरिएको छ। नेपाल टेलिकम र जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा क्यामेरा जडानको काम सुरु गरिएको छ।
महानगरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार २९ वटै वडाका २०० भन्दा बढी स्थानमा ४१८ क्यामेरा जडान गर्न लागिएको छ। चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित ४१८ उच्च क्षमताका भिएमएससहितका क्यामेरा जडान गर्न लागिएको छ। सिनजी आइटी सोलुसन प्रालिले रु पाँच करोड ५८ लाख २० हजार ६४९ को लागतमा क्यामेरा जडानको काम गर्दैछ।
उद्घाटन गर्दै महानगर प्रमुख दाहालले आधुनिक सहर बनाउने अभियानअन्तर्गत सिसी क्यामेरा जडानको काम सुरु गरिएको बताए। सुरक्षित र भयरहित तवरले जनता बाँच्न पाउनुपर्ने भन्दै यो योजना अघि बढाइएको उनको भनाइ छ । उनले भन, “सिसी क्यामेरा जडानसँगै सुरक्षित सहरको सपना सहाकार भएको छ ।”
महानगरपालिकाले २०६ किलोमिटर सडकमा स्मार्ट सडक बत्ती जडानको काम गरिएको उनले बताए। एकानब्बे वटा चोकमा हाइमास्ट लाइट जडान गरिएको छ । यस्तै महानगरका छवटा चोकमा ट्राफिक लाइट जडान गर्ने योजना पनि कार्यान्वयनमा ल्याउन लागिएको उनले जानकारी दिए। ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ ।