म्याग्दी । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ थप ५० योजनाका लागि रु एक करोड ३९ लाख बजेट विनियोजन गरेको छ । बेनीमा सोमबार भएको १८औँ नगरसभाले गत आवमा खर्च नभएको बजेटलाई ४३ वटा योजनाका लागि रु एक करोड २८ लाख ८५ हजार र सातवटा आन्तरिक रोजगारी प्रवर्द्धन कार्यक्रम (प्रधानमन्त्री रोजगार)का लागि रु १० लाख ५४ हजार विनियोजन गरेको हो ।
रु एक करोड ६३ लाख बजेटका ५० वटा योजना संशोधन भएको नगर उपप्रमुख ज्योति लामिछानेले बताइन् । उनले प्रस्तुत गरेको चालु आवको कुल बजेट रु ७१ करोड ८० लाख २७ हजार बाट बढाएर रु ७३ करोड नौ लाख ६२ हजार कायम गर्ने प्रस्ताव सभाले पारित गरेको हो ।
गत असारको नगरसभाबाट वडास्तरीय तीन सय १० र नगरस्तरीय पाँचवटा योजना छनोट भएकामा हालसम्म वडास्तरीय ९० वटा योजनाको सम्झौता भएकामा छवटा सम्पन्न भइसकेका र दुई सय २० वटा सम्झौताको चरणमा रहेका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।
उनका अनुसार नगरस्तरीय पाँचवटा योजनामध्ये तीनवटाको ठेक्का सम्झौता भएको र दुईवटा ठेक्का प्रक्रियामा छन् । सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, भवन, खेलमैदान, पदमार्ग निर्माणसम्बन्धी योजना छनोट भएका छन् ।
रु पाँच लाखसम्म बजेटका योजना वडा कार्यालयमै सम्झौता गर्ने व्यवस्था मिलाएको नगरप्रमुख सुरत केसीले बताए । आर्थिक वर्षको पाँच महिनामा कुल २९।९९ प्रतिशत अथवा चालुतर्फ रु २१ करोड ८७ हजार ५५० र पूँजीगततर्फ रु ५३ लाख ३०१ खर्च भएको सभामा जानकारी गराइएको थियो ।