नेपालगञ्ज । कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदन परियारले युवा पलायन कृषि क्षेत्रकाे सबैभन्दा ठूलो चुनौती भएको बताएका छन् ।
नेपालगञ्जमा दुई दिनदेखि सञ्चालन भएको उच्च मूल्य कृषिवस्तु उत्थानशिल कार्यक्रमको समापनमा मन्त्री डा.परियारले वैदेशिक रोजगारीका लागि युवाको पलायन चिन्ताजनक रहेको उल्लेख गरे। उनले स्थानीय तहको बजेट नियाल्दा कृषिलाई कम महत्व दिएको बताउँदै स्थानीय तहलाई कृषिमा उच्च प्राथमिकता दिन आग्रह गरे ।
“स्थानीय तहको भौतिक संरचनामा बढी लगानी देखिएको छ तर कृषि जस्तो महत्वपूर्ण क्षेत्र प्राथमिकतामा परेको छैन”, मन्त्री डा परियारले भने। उनले कृषिमा प्रविधि महिलामैत्री नभएको समेत बताए। नेपालको कृषि नीतिले समावेशीकरणलाई जोड दिन आवश्यक भएको धारणा उनले राखे। कृषि क्षेत्रको विकासका लागि तीन तहका सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री डा परियारले स्थानीय तहमा देखिएका कृषिका समस्या पहिचान गर्न कार्यक्रम फलदायी भएको बताए ।