ताप्लेजुङ। ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ। गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको आयोजनाको पावरहाउस लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको हो।
केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष गरिनुपर्ने नियमित मर्मतसम्भारको कार्य समेत एकैसाथ सम्पन्न गरी उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।
करिब दुई वर्षअघि उत्पादन सुरु गरिएको यस आयोजनाबाट उत्पादित विद्युत् वसन्तपुर सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ। यो आयोजना जिल्लामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामध्ये सबैभन्दा बढी क्षमताको हो।