काठमाडौं । नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले गत आर्थिक वर्ष २०८१–८२ (सन् २०२४–२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्कारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा हुने वित्तीय लगानी निवारण (एएमएल–सिएफटी) का सम्बन्धमा इकाईले गरेका नीतिगत र सञ्चालनगत कार्य तथा कार्यक्रमको विवरण उल्लेख गरेको छ ।
इकाईमा प्राप्त हुने शङ्कास्पद कारोबारको प्रतिवेदन र तिनको विश्लेषण एवम् प्रेषित तथ्याङ्ग, आन्तरिक तथा अन्तरराष्ट्रिय समन्वयसम्बन्धी विवरणसँगै आगामी रणनीतिक प्राथमिकतालाई पनि प्रतिवेदनमा समेटिएको छ ।
इकाईले आर्थिक वर्ष २०८१–८२ मा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गरिएको जनाएको छ । त्यस्तै, ‘गो–एएमएल अपरेसन गाइडलाइन’ जारी तथा अद्यावधिक गर्ने, शङ्कास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्ने लगायतका कार्यहरू सम्पन्न गरेको वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ ।
साथै, इकाईले वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरेको जनाइएको छ ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा गो–एएमएल प्रणालीमार्फत वित्तीय सूचना सङ्कलन उल्लेख्य रूपमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा गो–एएमएलमा आबद्ध सूचक संस्थाहरूको सङ्ख्या एक हजार ६३८ रहेकामा गत आर्थिक वर्ष २०८१–८२ मा तीन हजार ४८७ पुगेको छ । सोही अवधिमा इकाईले आठ हजार ५६५ वटा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त गरेको छ । यो आकडा अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।