काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन० ले आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको दाबी गरेका छन् । भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमा एक पोस्ट गर्दै बालेनले स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरेको दाबी गरेका हुन् ।
उनले महानगरमा सुरु भएका सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको समेत बताए ।‘नागरिकको विश्वासका कारण काठमाडौं महानगरपालिकाको प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, हामीले शब्दभन्दा कामलाई प्राथमिकता दिएका छौँ। स्थानीय तहले आफ्नो अधिकार प्रयोग गरी आम जनताको सुविधाका लागि काम गर्न सकिन्छ भन्ने प्रमाणित गर्ने गरी काम गरियो,’ उनले भने, ‘आम मानिसले प्रत्यक्ष अनुभूति गर्न सक्ने सेवा, पारदर्शी प्रणाली र संरचनागत सुधारको सुरुवात महानगरबाट भएको छ। अब महानगरमा सुरु भएका यी सुधार र यसको अभ्यासलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको छ।’
मेयर बालेनले २०७२ सालको भूकम्पको समयलाई स्मरण गर्दै अब त्यस्तो दिन कहिल्यै नआओस भन्ने कामना गरे । उनले लेखेका छन्, ‘२०७२ सालको भूकम्पपछि म सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दै थिएँ। काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरियो। त्यसपछि गोरखा हुँदै देशका ३५ भन्दा बढी जिल्लामा सिभिल इन्जिनियरका रूपमा काम गर्ने अवसर पाएँ। आज भूकम्प सुरक्षा दिवसको अवसरमा अब कहिल्यै पनि त्यस्तो दिन नआओस् भन्ने हाम्रो कामना छ।’
‘नेपालका विभिन्न भूगोलमा एउटा पेशाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो । नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट मात्र बन्दैन। भौगोलिक भू–बनोटसँगै हाम्रो विविधतायुक्त समाजलाई माथि उकास्न यसका अनेक पाटोलाई सँगसँगै माथि उठाएर काम गर्नुपर्छ,’ उनी थप लेख्छन्, ‘राष्ट्रको विकास भनेको भूगोल र जनता दुवैको विकास हो, र त्यसलाई जोड्न सक्ने सेतुको बलियो आधार निर्माण गर्नु हो। सुरक्षित राष्ट्र निर्माणका लागि स्ट्रक्चरल इन्जिनियरिङ, दीर्घकालीन योजना, मौलिक र आधुनिक विकासको सामञ्जस्यता, जिम्मेवार नीति र इमानदार नेतृत्वको आवश्यकता छ। यही बुझाइका साथ म भारत गएँ र स्ट्रक्चरल इन्जिनियरिङ अध्ययन गरेँ। अध्ययनपछि सुविधा सम्पन्न देशमा बसेर काम गर्ने अवसर थियो, तर मैले देश फर्किने निर्णय गरेँ।’
नेपालको विकास सडक, भवन र ठूला–ठूला संरचना मात्र नभएर सुरक्षित संरचना, देशको आवश्यकता र आम जनताको आशालाई जीवित राख्दै देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनाउनु र उदार समाज निर्माण गर्नु रहेको उनले धारणा राखे । संस्थागत विकास र समुन्नति कुनै कागजमा मात्र नभएर हरेक जनताले अनुभूत गर्न पाउने कुरा भएको समेत बालेनको भनाई छ ।

