काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्प प्रतिरोधि संरचना निर्माणको लागि सरकारी निकाय, निजी क्षेत्र र गैर सरकारी संस्थाको क्षमता अभिवृद्धि गर्नुपर्ने बताएका छन् ।
शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले भूकम्प प्रतिरोधी संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाउनुपर्ने भन्दै त्यसको लागि सरकारी निकाय, निजी क्षेत्र, गैरसरकारी संस्था, निर्माण व्यवसायी र समुदाय स्तरमा पूर्वतयारी, प्रतिकार्य र पुननिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने बताए ।
उनले भने, ‘आगामी दिनमा भूकम्प प्रतिरोधि संरचना निर्माणको अभियानलाई थप प्रभावकारी बनाएर लानुपर्ने आवश्यकता छ । सरकारी निकाय, निजी क्षेत्र, गैर सरकारी संस्था, निर्माण व्यवसायी र समुदायी स्तरमा पूर्व तयारी, प्रतिकार्य र पुननिर्माणको क्षमता अभिवृद्धि गर्नुपर्ने छ । आवश्यक उपकरणको प्रबन्ध गर्न र अति आवश्यक सामग्रिहरुको भण्डारनलाई प्रभावकारी बनाउन सबै प्रदेश र स्थानिय तहमा आपतकालिन गोदामघरको व्यवस्थापन गर्नुपर्ने छ ।’
भूकम्पबाट सुरक्षित घर, समुदाय एंव राष्ट्र निर्माण सबैको जिम्मेवारी भएको भन्दै उक्त जिम्मेवारी पूरा गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको पनि उनको भनाई छ ।