काठमाडौं । पानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति, संस्था वा समूहलाई यस वर्ष २० लाख रुपैयाँ राशिको ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’ प्रदान गरिने भएको छ । सन् २०१० देखि पुरस्कार वितरण गर्दै आएको रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले सन् २०१४ देखि पुरस्कार राशिमा वृद्धि गरी २० लाख रुपैयाँ प्रदान गर्दै आएको छ ।
रोटरी आचारसंहिताअनुसार निष्कलंक र समर्पित भावनाका साथ आफ्नो पेशागत क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई सम्मान गर्ने उद्देश्यले अवार्ड प्रदान गर्दै आएको रोटरी इन्टरनेशनले जनाएको छ ।
नेपालमा सन् १९५९ देखि रोटरी अभियान सुरु भएको र हाल देशभर १६३ वटा रोटरी क्लबमार्फत सामाजिक सेवाका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका क्लबहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र सामुदायिक सशक्तीकरणका क्षेत्रमा योगदान गर्दै आएका छन् ।
अवार्डका लागि नेपालका नागरिक, नागरिक समूह वा कानुनअनुसार दर्ता भएका संस्थाहरूले आवेदन दिन सक्नेछन् । पेशा, व्यवसाय वा सेवाक्षेत्रमा दीर्घकालीन प्रतिबद्धता, नवप्रवर्तन, उच्च नैतिकता, सामाजिक प्रभाव र उदाहरणीय कार्यलाई मूल्यांकनका आधार बनाइने रोटरीले जनाएको छ ।
आवेदन फारम रोटरी डिस्ट्रिक्ट कार्यालय, थापाथली तथा देशभरका रोटरी क्लबहरूबाट प्राप्त गर्न सकिने छ भने अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आवेदन बुझाउने अन्तिम मिति माघ २२ गतेसम्म तोकिएको छ । उक्त अवार्ड फागुन ७ देखि ९ गतेसम्म पोखरामा आयोजना हुने १३औँ रोटरी डिस्ट्रिक्ट सम्मेलनका अवसरमा प्रदान गरिने जनाइएको छ ।