काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले विकास निर्माणका काममा खरिद नियमावली बाधक भएको बताएकी छन्।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा बोल्दै मन्त्री यादवले अहिले रहेको विद्यमान खरिद नियमावली बाधक बनेका कारण सरकारले विकास निर्माणको काम गर्न नसकेको बताएकी हुन्।
उनले खरिद ऐनकै कारण विकास निर्माणको काम नहुँदा सरकारले खरिद नियमावली संशोधन गर्ने तयारीमा रहेको जानकारी समेत दिइन्।
मन्त्री यादवले खरिद नियमावलीको कारण सडक निर्माण टेण्डर प्रक्रिया नै समस्या भएको बताइन्।
मन्त्री यादवले दार्चुला तथा कर्णाली क्षेत्रका बन्ने सडक निर्माणको कामलाई सरकारले पहिलो प्राथमिकता दिएको पनि बताइन्।
उनले मन्त्रालयले कर्णाली तथा दार्चुलाबाट सडक निर्माणको फाइल आएको एक दिन अध्ययन गरेर तीन दिनभित्र फाइल अगाडि बढाउने गरेको जानकारी दिइन्।
मन्त्री यादवले नेपालको निर्माण कम्पनी मजबुद नभएकाले विदेशी कम्पनीहरूलाई कामका जिम्मा दिनुपर्ने अवस्था रहेको बताइन्।
उनले अहिले विभिन्न मन्त्रालयमा प्रविधिक तथा इन्जिनियरको अभाव भएकाले विकास निर्माणको काम पछि परेको बताइन्।