काठमाडौं । उज्यालो नेपाल पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनसँग सम्बन्धित घटनाक्रमबारे सत्य तथ्य सार्वजनिक गर्न ढिलाइ हुनु लोकतान्त्रिक मूल्य विपरीत भएको जनाएको हो ।
पार्टीका अनुसार उक्त आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको भए पनि हालसम्म सार्वजनिक नगरिनु ‘दुःखद र चिन्ताजनक’ छ । प्रतिवेदन गोप्य राख्दा नागरिकमा अन्योल, शंका तथा राज्यप्रतिको अविश्वास बढ्ने चेतावनी दिँदै पार्टीले पीडित, घाइते र मृतकका परिवारले सत्य, न्याय र जबाफदेहिताको अपेक्षा गरिरहेको उल्लेख गरेको छ ।
आयोगका प्रतिवेदन केवल सरकारी फाइलमा सीमित रहने कागज नभई सार्वजनिक सरोकार, संस्थागत सुधार र जिम्मेवारी निर्धारणको आधार बन्नुपर्ने दस्ताबेज भएको उल्लेख गरेको छ ।
“सत्य सार्वजनिक गरेर मात्र न्याय, सुधार र सामाजिक विश्वासको मार्ग खुल्छ,’ पार्टीको धारणा छ । पार्टीले सरकारसमक्ष पाँचबुँदे माग पनि अघि सारेको छ, जसमा प्रतिवेदन तत्काल सार्वजनिक गर्ने, ढिलाइ भएको भए कारण र समय सीमा स्पष्ट पार्ने, निष्कर्षका आधारमा जिम्मेवारमाथि कानुनी कारबाही अघि बढाउने, पीडितलाई न्याय र परिपूरणको अनुभूति गराउने तथा भविष्यमा यस्ता घटना नदोहरिने गरी सुरक्षा संयन्त्रमा सुधार गर्ने विषय समावेश छन् ।