रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित चाँदी खोलामा भइरहेको अवैध प्राकृतिक दोहन नियन्त्रण गर्न सशस्त्र प्रहरीले सक्रियता देखाएको छ । बिहीबार बिहान चाँदी खोलाको दुई फरक स्थानबाट अवैध रूपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले आठवटा ट्र्याक्टरसहित चालकहरूलाई नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस सन्तपुरबाट खटिएको टोलीले उक्त सफलता प्राप्त गरेको हो । बिहीबार बिहान करिब ७ः२० बजेको समयमा चन्द्रपुर नगरपालिका–५ राजपैडा र वडा नम्बर ८ मोतीपुरस्थित चाँदी खोलाको बगरमा ट्र्याक्टरहरूले रूपमा बालुवा लोड गरिरहेको सूचना सुरक्षा निकायलाई प्राप्त भएको थियो ।
सूचना पाएलगत्तै सन्तपुर बेसका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) विश्वनाथ जिसीको नेतृत्वमा ११ जनाको विशेष टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। टोली पुग्दा खोलाको बगरभित्र केही ट्र्याक्टरमा बालुवा लोड भइरहेको र केही लोड गर्ने तयारीमा रहेको अवस्थामा फेला परेका थिए ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामहरि अधिकारीका अनुसार अवैध उत्खननमा संलग्न रहेका आठ जना चालक र उनीहरूले चलाएका ट्र्याक्टरहरूलाई घटनास्थलबाटै नियन्त्रणमा लिइएको छ ।
पक्राउ पर्नेहरुमा ६ त ३७८५ का ट्र्याक्टर र चालक दीपेन्द्र माझी, ५ त ५४२ का चालक राहुल यादव, ५ त ९५५१ का चालक देवनाथ चौधरी, करण चौधरी, रामायण पटेल, विवेक पासवान, मायालाल माझी र भुन्टा माझी रहेका छन् ।