काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले देश विकासको मुख्य खम्बा कृषि क्षेत्र भएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रीय संघको १४ औं वार्षिक साधारण सभामा बोल्दै उनले देश विकासका लागि कृषि क्षेत्रलाई परिचालन गर्नुको विकल्प नरहेको बताएका हुन्।
उनले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए।
अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव हुने बताए।
उनले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यकता औंल्याए।
अर्थमन्त्री शर्माले किसानहरूलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरूलाई सचेत गराए।
उनले कृषि क्षेत्र बलियो भए देश विकासका लागि आवश्यक पूर्वाधार तयार गर्न सहज हुने कुरामा जोड दिए। कृषि क्षेत्रको विकासले देशको अर्थतन्त्र बलियो हुने भन्दै अर्थतन्त्र बलियो भएपछि विकास निर्माणमा गति दिन सक्ने उनको धारणा छ।