नेपाल निर्माण व्यवसायी महासङ्घको २६ औँ साधारणसभा तथा १३ औँ अधिवेशनका लागि निकोलश पाण्डे र आङ दोर्जी (एडी) लामाबीच अध्यक्ष पदका लागि प्रतिस्पर्धा हुँदैछ । महासंघको मंगलबारदेखि सुरु भएको अधिवेशनको बिहीबार हुने मतदानमा पाण्डे र लामा प्यानल बनाएरै प्रतिस्पर्धामा उत्रिएका हुन् ।
पाण्डलेले सोमबार एक कार्यक्रमका बीच आफ्नो प्यानल घोषणा गरेका थिए । पाण्डेको समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्वल गौतम चुनाव लड्नेछन्।
लामाले पनि सोमबार नै काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच आफ्नो उम्मेदवारी र प्यानल घोषणा गरेका छन् । यस समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एशोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठले चुनावी प्रतिस्पर्धा गर्दै छन्।
प्यानल घोषणा कार्यक्रममा बोल्दै पाण्डेले निर्माण व्यवसायको क्षेत्रमा देखिएका समस्या हल गर्ने योजनासहित आफूहरु प्रतिष्पधर्धामा उत्रिएको बताएका थिए। उनले निर्माण व्यवसायको क्षेत्रमा देखिएका चुनौतीहरु सरोकारवालाहरुसँगको समन्वयमा समाधान गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। उनले सार्वजनिक खरिद ऐनका निर्माण व्यवसायका प्रतिकुल रहेका दफाहरु खारेज गर्ने समेत घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै लामाले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्न लागेको विषयमा चर्चा गरे।
उनले सरकारको योजनाअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताउँदै विगत तीन वर्षदेखि खरिद ऐन संशोधनका लागि संसद्को ध्यानाकर्षण गराए पनि राजनीतिक अस्थिरताका कारण त्यो सफल हुन नसकेको उल्लेख गरे। नयाँ सरकारले ३० दिनभित्र ऐन संशोधन गर्ने वाचा गरेको सुनेको बताउँदै उनले पटक–पटक संसद् विघटन हुँदा व्यवसायीका माग ओझेलमा परेको गुनासो गरे।
महासंघको मतदान कार्यक्रम भोलि बिहान ८ बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीको साधारण सभा हलमा हुनेछ ।