दमौली । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन गरेको जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति भएको छ ।
व्यास नगरपालिका–१० बैरेनीमा सञ्चालित जग्गा विकास आयोजनामा फागुन मसान्तसम्म ८० प्रतिशत भौतिक र ४५ प्रतिशत वित्तीय प्रगति भएको जनाइएको छ । हालसम्म उक्त आयोजनामा रु चार करोड १६ लाख नौ हजार चार सय ९४ खर्च भएको छ ।
नगरपालिकाले रु नौ करोड २४ लाख ७० हजार ८१ को लागतमा जग्गा विकास आयोजनाको काम सुरु गरेको हो । प्रारम्भिक चरणमा जग्गा सम्याउने तथा ‘रिटेनिङ वाल’ निर्माणका लागि रु ५९ लाख ९० हजार सात सय ८१ मा ठेक्का लागेको थियो ।
उक्त ठेक्काको जिम्मा विश्वास एण्ड बिपु कन्स्ट्रक्सन जोरपाटीले पाएको थियो । त्यस्तै दोस्रो चरणमा सडक, ढल तथा अन्य संरचना निर्माणका लागि रु आठ करोड ६४ लाख ७९ हजार दुई सय ३७ मा ठेक्का लागेको थियो । उक्त ठेक्का एचआरभी शिवदेव जेभी धुलिखेलले पाएको छ ।
हालसम्म ‘रिटेनिङ स्ट्रक्चर’लगायत मुख्य ढल निकास र सहायक ढल निकासको अधिकांश निर्माण कार्य सम्पन्न भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । उनका अनुसार खानेपानी लाइन विस्तार तथा ढल नालाको कभर स्ल्याब निर्माण कार्य भइरहेको छ ।
यहाँ विद्युत् पोलको निर्माण गरिने तथा प्रसारण लाइनका लागि सहरी विकास तथा भवन निर्माण विभागको वित्तीय सहयोग र विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको समन्वयमा निर्माण गरिनेछ ।
नगरपालिकाले आयोजना निर्माणका लागि विसं २०८१ मङ्सिर १५ गते नगर विकास कोषसँग ऋण सम्झौता गरेको थियो । सम्झौताअनुसार नगर विकास कोषले ७० प्रतिशत र नगरपालिकाले ३० प्रतिशत रकम बेहोर्नेछन् ।
जग्गा एकीकरण आयोजनाका लागि एक लाख ३२ हजार आठ सय १४ वर्ग मिटर क्षेत्रफल छुट्याइएको छ । जग्गा एकीकरण आयोजनामा दुई सय ३१ लाभग्राहीका तीन सय ४७ कित्ता समावेश गरिएको छ ।