रुपन्देही । रुपन्देहीका निर्माण व्यवसायीहरूले निर्माण सामग्रीको पटक–पटक भएको अस्वाभाविक मूल्यवृद्धि र सामग्री अभावका कारण निर्माण उद्योगमा संकट उत्पन्न भएको भन्दै आपतकाल घोषणा गरी मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् ।
मध्यपूर्व एशियामा जारी युद्धका कारण निर्माण सामग्रीको मूल्य निरन्तर बढ्दै गएको र स्वदेशमै उपलब्ध हुनुपर्ने नदीजन्य सामग्रीको चरम अभावका कारण निर्माण कार्य प्रभावित भएको व्यवसायीहरूले बताएका छन् ।
लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन आयोजना गर्दै ठेक्का सम्झौता गर्दा कायम रहेको मूल्यदरभन्दा निर्माण सामग्रीको मूल्य अत्यधिक वृद्धि भए पनि सोअनुसार बिल पेस गर्दा भुक्तानी नपाइएको गुनासो गरेको हो ।
संघका कार्यवाहक अध्यक्ष प्रितम रौनियारले निर्माण व्यवसायीहरूले भोगिरहेका समस्याबारे प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराइएको जानकारी दिए । उनले पटक–पटकको मूल्यवृद्धिले व्यवसायीहरू आक्रान्त भएको बताउँदै निर्माण उद्योगमा आपतकाल घोषणा गरी राहत दिन तथा बढ्दो मूल्यवृद्धिअनुसार मूल्य समायोजन गर्दै सबै ठेक्काको समय थप गर्नुपर्ने माग गरे । अन्यथा व्यवसायीहरूले ठेक्का त्याग्नुपर्ने अवस्था आउने उनको भनाइ छ ।