काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक नगर प्रमुख सुनिता डंगोलले नदी किनार तथा सार्वजनिक स्थानमा रहेका अनधिकृत संरचना हटाउने क्रममा सम्मानजनक र मानवीय व्यवहार अपनाइने बताएकी छन्।
सामाजिक सञ्जालमार्फत उनले काठमाडौं महानगरपालिकाले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी, सामुदायिक तथा निजी स्वामित्वका जग्गाको संरक्षण गर्दा मानव अधिकारका न्यूनतम मूल्य र मान्यतालाई आत्मसात् गर्दै काम गरिरहेको उल्लेख गरेकी हुन् ।
‘काठमाडौं महानगरपालिकाले सार्वजनिक, पर्ति, ऐलानी, सरकारी तथा सामुदायिक जग्गा तथा अरूको नीजि स्वामित्वमा रहेको जग्गा संरक्षण गर्ने कार्य गर्दा मानव अधिकारको न्यूनतम मूल्य तथा मान्यतालाई समेत आत्मसात् गर्दै कार्य सम्पादन गर्दै आइरहेको छ,’ उनले लेखेकी छन् ।
उनका अनुसार नेपाल सरकारको हालैको निर्णय तथा सम्बन्धित मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको अनुरोधअनुसार महानगर क्षेत्रभित्रका नदी किनार र अन्य सार्वजनिक स्थानको संरक्षणका लागि अनधिकृत संरचना हटाउने कार्यमा महानगरपालिकाले सहयोगी भूमिका निर्वाह गर्नेछ।
डंगोलले उक्त कार्यका क्रममा ज्येष्ठ नागरिक, बिरामी, गर्भवती महिला, बालबालिका तथा अपांगता भएका व्यक्तिहरूको विशेष ख्याल राखिने बताएकी छन्। सकेसम्म विवादरहित, सुरक्षित र कानुन तथा न्याय प्रतिकूल नहुने गरी व्यवस्थापन गर्न महानगरपालिकाले अधिकतम प्रयास गर्ने उनको भनाइ छ। यस कार्यमा आवश्यक सहयोग र समन्वय गर्न सरोकारवाला निकाय, जनप्रतिनिधि तथा सर्वसाधारण सबैमा उनले हार्दिक अनुरोधसमेत गरेकी छन्।