भोजपुर । जिल्लाको दुर्गम क्षेत्र खोक्सिकका स्थानीय अब सामान्य उपचारका लागि घण्टौँ हिँड्न बाध्य हुने अवस्था क्रमशः अन्त्य हुँदै गएको छ । वर्षौँदेखि भवन अभावमा सहकारीको घरबाट सञ्चालन हुँदै आएको आधारभूत स्वास्थ्य सेवा केन्द्र अहिले आफ्नै पक्की भवनबाट सञ्चालनमा आएको छ ।
हतुवागढी गाउँपालिका–२ अन्तर्गतको खोक्सिक क्षेत्रमा वडाको पहलमा प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँ बजेटमार्फत चारकोठे स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध हुन थालेको छ ।
वडाध्यक्ष बाचकुमार राईका अनुसार भौगोलिक विकटताका कारण यहाँका नागरिकले सामान्य स्वास्थ्य सेवाका लागि पनि ठूलो सास्ती भोग्दै आएका थिए । सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य चौकी स्थापना भए पनि भवन अभावले सेवा प्रभावकारी हुन सकेको थिएन ।
कोशी प्रदेश सांसद सिर्जना राईले एक कार्यक्रमबीच भवन उद्घाटन गर्दै ग्रामीण क्षेत्रसम्म गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन् । स्थानीयवासीले पनि आफ्नै गाउँमा पक्की स्वास्थ्य चौकी बनेपछि उपचार सेवा लिन सहज भएको बताएका छन् ।
यस्तै, भोजपुरकै लुङ्गिन क्षेत्रमा पनि स्थानीयस्तरको सामुदायिक विकासलाई बलियो बनाउने उद्देश्यले चार वटा टोल विकास संस्थाका भवन निर्माण सम्पन्न भएका छन् । स्थानीय तहको बजेट र टोलबासीको सक्रिय सहभागितामा बनेका यी भवन अहिले गाउँका साझा केन्द्रका रूपमा प्रयोग हुन थालेका छन् ।
पहिले बैठक, भेला तथा सामाजिक कार्यक्रम सञ्चालन गर्न उपयुक्त स्थान नहुँदा खुला ठाउँ वा निजी घरको भर पर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् । अहिले भवन निर्माण भएपछि योजना छलफल, सामाजिक अभियान, महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन गर्न सहज भएको छ ।
वडाध्यक्ष विचारी थापाका अनुसार आगामी दिनमा यी भवनलाई बहुउपयोगी बनाउँदै सीपमूलक तालिम, आयआर्जन र युवा गतिविधिका केन्द्रका रूपमा विकास गर्ने योजना रहेको छ ।
दुर्गम क्षेत्रमा स्वास्थ्य र सामुदायिक पूर्वाधार विस्तारसँगै स्थानीयमा विकासप्रतिको आशा र उत्साह बढ्दै गएको देखिएको छ ।