काठमाडौं । इन्धनसहित निर्माण सामग्रीको भाउ आकासिएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा उत्रिएको छ। महासंघले बिहीबार सडक विभाग र जलस्रोत विभागमा ज्ञापनपत्र बुझाउँदै धर्ना दिएको हो।
निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण काम गर्नै नसक्ने अवस्था आएको भन्दै सरकारले तत्काल ठेक्काको मूल्य समायोजन गर्नुपर्ने माग गरेका छन्।
महासंघका महासचिव शिवहरी घिमिरेले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेकाले आफूहरु आन्दोलित बनेको बताए। उनकाअनुसार निर्माण व्यवसायीहरु मूल्यवृद्धिका कारण चरम संकटमा परेका छन्। त्यसकारण बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्छ। काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्छ।
आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्छ। आन्दोलनकै बिचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति पनि उनले आपत्ति जनाउनुभयो अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने उनको भनाइ छ।
महासंचिव घिमिरेले भने, ‘आजदेखि देशभरका सम्पूर्ण निर्माण कार्यहरू ठप्प गर्ने, बन्द गर्ने निर्णय गरेका छौँ र त्यसैको जानकारीको लागि आज हामी यहाँ उपस्थिति भएका छौँ। यसपछिको जुन परिणाम हुन्छ अब निर्माण कार्य ठप्प भइसकेपछि अब नेपाल सरकारले गर्नुपर्छ। म्याद थप, बैंक ग्यारेन्टी, इन्स्योरेन्सका विषयलाई चाहिँ नेपाल सरकारले सम्बोधन गरेर अघि बढ्नुपर्नेमा सरकारले सम्बोधन नगर्दा हामी बाध्य भएर काम रोक्नुपरेको हो।’
व्यवसायीहरूले रोकिएका आयोजनाको म्याद थप, बैंक ग्यारेन्टी र बीमासम्बन्धी समस्या समाधान गर्न पनि माग गरेका छन्। इन्धन महँगिएसँगै सिमेन्ट, डण्डी, बालुवा लगायत सामग्रीको मूल्य बढ्दा अधिकांश आयोजना प्रभावित बनेको उनीहरूको भनाइ छ।
महासंघले अब ७७ वटै जिल्लामा ज्ञापनपत्र बुझाउने र थप आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।