नवलपरासी । नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदी उत्खननलाई व्यवस्थित बनाउन जिल्ला अनुगमन समिति नवलपुरले निर्देशन दिएको छ ।
समितिले गरेको स्थलगत अनुगमनका क्रममा नारायणी नदीमा अनियन्त्रित रुपमा उत्खनन गरेको पाइएको भन्दै खोला उत्खनन व्यवस्थित बनाउन निर्देशन दिएको हो ।
समितिका संयोजक एवं जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले नारायणी नदीबाट नदीजन्य पदार्थ मनपरि खनिएको पाइएको बताए । नदीमा अनुमतिभन्दा गहिरो खाल्डो खनेर उत्खनन गरिएको तथा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर उत्खनन गर्न दिइएको भन्दा अन्यत्र स्थानमा पनि उत्खनन भएको पाइएको उनको भनाइ छ । उनले नदीजन्य पदार्थ उत्खनन गर्दा नियमविपरीत हुन नहुने बताए ।
नदीमा चार स्काभेटर प्रयोग गर्नुपर्ने भए पनि त्यो भन्दा बढी प्रयोग भएको पाइएको भन्दै प्रमुख विश्वकर्माले नदीबाट ढुवानी भएका नदीजन्य सामग्रीको यथार्थ विवरण र चलानी विजक नियमित हुनुपर्ने बताए । नदीमा दैनिक नौ वटासम्म स्काभेटर र २०० बढी ट्रिपर प्रयोग गरी उत्खनन गर्दा आवश्यकताभन्दा बढी नदीजन्य पदार्थ निकालिएकाले तत्काल नापजाँच गर्नुपर्ने उनले बताए ।