काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । शुक्रबार भएको प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा निर्माण व्यवसायीहरूले निर्माण क्षेत्रका समस्या र चुनौतीबारे जानकारी गराएपछि उनले यस्तो जवाफ दिएका हुन्।
बैठकमा व्यवसायीहरूले काम सम्पन्न गर्दा पनि भुक्तानी नपाएको, अत्यधिक मूल्यवृद्धि भएको र म्याद थपमा समस्या रहेको गुनासो मन्त्रीसामु राखेका थिए। व्यवसायीका कुरा सुनेपछि मन्त्री लम्सालले निर्माणको काममा ढिलासुस्ती नगर्न र गुणस्तरमा सम्झौता नगर्न आग्रह गरे।
मन्त्री लम्सालले देशको आर्थिक अवस्था र मूल्यवृद्धिको मारबारे सरकार जानकार रहेको बताए। उनले भने, ‘मन्त्रालय अहिले करिब ३७ अर्ब घाटामा छ, तर पनि हामी व्यवसायीका समस्याप्रति गम्भीर छौँ ।’
मूल्यवृद्धिको सम्बोधनका लागि राष्ट्र बैंकको इन्डेक्सअनुसार काम भइरहेको र कानुनी प्रक्रिया मिलाएर व्यवसायीलाई राहत दिइने उनले बताए। केही प्रोजेक्टहरूको हकमा ऐन नै संशोधन गरेर भए पनि मूल्य समायोजन र म्याद थपको समस्या सुल्झाउने उनको प्रतिबद्धता छ।