काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले विद्युतीय खरिद प्रणाली (ई–जीपी) मा ठेक्का सम्झौतासम्बन्धी विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न सार्वजनिक निकायहरूलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको पीपीएमओले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक निकायहरूले प्रकाशित गरेका विभिन्न ठेक्काको आशयपत्र (LOI), स्वीकृतिपत्र (LOA) तथा सम्झौताका विवरण प्रणालीमा प्रविष्ट नभएको जनाएको हो ।
कार्यालयका अनुसार ठेक्का अवार्ड भइसकेका आयोजनाको विवरण भने bolpatra.gov.np/egp मा रहेको ‘Contract Records’ मा अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको छ । सो विवरण सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिइएको छ ।
पीपीएमओले यस प्रक्रियालाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूलाई समयमै विवरण अद्यावधिक गर्न आग्रह गरेको छ ।
