काठमाडौं । चीनका आधुनिक अन्न भण्डारण केन्द्रहरूमा अब रोबोट र स्वचालित प्रणालीले भारी काम गर्न थालेका छन् ।
अन्न लोड गर्ने, सम्याउनेदेखि सुरक्षा निगरानीसम्मका काम प्रविधिमार्फत सञ्चालन हुन थालेपछि भण्डारण प्रणाली थप प्रभावकारी बनेको छ ।
पूर्वी चीनको हाङ्झाउस्थित रेन्हे अन्न भण्डारण केन्द्रमा प्रयोग गरिएको स्वचालित अन्न निकासी प्रणालीले विशाल भ्याकुमजस्तै काम गर्छ । यसले कार्गो जहाजबाट अन्न तानेर सिधै बन्द गोदाममा भण्डारण गर्ने गर्दछ ।
भण्डारण तथा यातायात विभागका निर्देशकमा गुओजुनका अनुसार सम्पूर्ण अन्न ढुवानी प्रणाली पूर्ण रूपमा बन्द पाइपलाइनमार्फत सञ्चालन हुने भएकाले मौसमको असर नपर्ने र आपतकालीन आपूर्ति क्षमतामा समेत सुधार भएको छ ।
यसअघि निकै धेरै श्रम आवश्यक पर्ने अन्नको थुप्रो सम्याउने काम पनि अहिले रोबोटले गर्न थालेका छन् । नयाँ पुस्ताका लेभलिङ रोबोटहरू अझ शक्तिशाली, टिकाउ र लामो समय सञ्चालन गर्न सक्ने बनाइएको बताइएको छ ।
प्राविधिक टोलीका प्रमुख मा लुयाओका अनुसार दोस्रो पुस्ताका रोबोटहरू एक पटक चार्ज गरेपछि करिब आठ घण्टासम्म निरन्तर सञ्चालन गर्न सक्छन् ।
त्यस्तै, चार खुट्टे रोबोटहरूले अन्न भण्डारण केन्द्रको सुरक्षा निगरानी गर्ने, कर्मचारीहरूले सुरक्षात्मक सामग्री लगाएका छन् कि छैनन् भनेर चेतावनी दिने काम समेत गरिरहेका छन् । चीन विश्वकै सबैभन्दा ठूलो अन्न उत्पादक देश हो । चीनको राष्ट्रिय तथ्यांक ब्यूरोका अनुसार पछिल्ला दुई वर्षदेखि चीनले वार्षिक ७० करोड टनभन्दा बढी अन्न उत्पादन गर्दै आएको छ ।