काठमाडौं। जुम्लाको कनकासुन्दरी गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण गरिने भएको छ। गाउँ कार्यपालिकाको कार्यलयले सो अस्पताल भवन निर्माण गर्न लागेको हो।
गाउँमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सो अस्पताल भवन निर्माण कार्यलाई अघि बढाइएको हो। स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका स्थानीयहरुलाई लक्षित गरी गाउँपालिकामा नै अस्पताल निर्माण गर्न लागिएको हो। अस्पतालको अभावमा समयमा नै उपचार नपाएर अकालमा नै ज्यान गुमाउनु परेको दर्दनाक घटनालाई अन्त्य गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ। साथै गरिब विपन्न वर्गले पनि स्वास्थ्य सुविधा उपभोग गर्न पाउने गरी स्थानीय स्तरमा नै अस्पताल भवन निर्माणको योजना ल्याइएको हो।
संघिय सरकारको हरेक पालिकामा ५/१० र १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने नीतिलाई अवलम्वन गर्दै गाउँपालिकाले अस्पताल भवन निर्माण थालेको हो। उक्त अस्पताल भवन निर्माणको लागि भ्याट बाहेक करिब १३ करोड, ४० लाख लागतमा श्री टि डि आर/तुल्सी/मजदुर जे.भी. निर्माण कम्पनीले ठेक्का कबोल गरेको छ। हाल ठेक्का सम्झौताको चरणमा रहेको छ। ठेक्का प्रक्रिया पुरा भएलगत्तै अस्पताल भवन निर्माण कार्यलाई अघि बढाउने निर्माण कम्पनीको योजना रहेको छ। गाउँमा नै गुणस्तरीय सेवा उपभोग गर्न पाउने कुराले त्यहाँका स्थानीयहरु खुसी भएका छन्।