म्याग्दी । पूर्वाधार विकास कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२/०८३ मा यहाँ सञ्चालित सात वटा योजना समयअगावै निर्माण भएका छन् । इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका बाबजुत तीन वटा बहुवर्षीय र चार वटा सालबसाली योजना निर्धारित समयअगावै सम्पन्न भएका हुन् । असहज अवस्थामा पनि सरकारसँग गरेको सम्झौताअनुसार जिम्मेवारी पूरा गरे पनि भुक्तानी भने समयमै पाउन नसकिएको व्यवसायीले गुनासो गरेका छन् ।
विसं २०८१ जेठ २० गते मङ्गलादेवी सुवास कन्ट्रक्सनले रु १२ करोड ७६ लाख ३३ हजार ६४० मा ठेक्का सम्झौता गरेको बेनी–तोरीपानी हुँदै पाखापानी सडक गत फागुन महिनामै सम्पन्न भएको छ ।
यस योजनामार्फत भुतादैलादेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्म एक दशमलव ९०० किलोमिटर दूरीमा ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र र नेप्टेचौरदेखि तोरीपानीस्थित गलेश्वर मावि परिसरको थप दुई किलोमिटर दूरीमा सडक फराकिलो, ग्रेड, घुम्ती सुधार र अप्ठ्यारो ठाउँमा पाँच सय ५० मिटर दूरीमा ढलान र दुई दशमलव पाँच सय किलोमिटर दूरीमा ग्राभेल भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
विसं २०८२ असार असार १६ गते रु दुई करोड २३ लाख ४६ हजारमा बिबिपीएल बिएस डिएस धौलागिरिले ठेक्का सम्झौता गरेको गलेश्वर–पुलाश्रम–जगन्नाथ सडक योजना गत माघ महिनामै सम्पन्न भएको थियो । उक्त योजनाको म्याद विसं २०८३ असार १६ सम्म रहेको थियो ।
विसं २०८१ जेठ २० गते रामसागर बिएस धौलागिरि जेभीसँग रु १६ करोड ३५ लाख ९१ हजार ९६ मा ठेक्का सम्झौता गरिएको दरवाङ–मुना–ढोरपाटन सडक स्तरोन्नति योजना सम्पन्न हुने चरणमा पुगेको छ । आगामी भदौ १३ सम्म म्याद रहेको उक्त योजनामार्फत धौलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ–भिनडाँडा खण्डको छ किलोमिटर दूरीमाकालोपत्रसहित स्तरोन्नति गर्न लागिएको हो ।
चालु आर्थिक वर्षमा रु ५०/५० लाख बजेट विनियोजन भएका चार वटा सडक स्तरोन्नति योजना पनि लक्ष्यअघि नै सम्पन्न भएका पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर डा महेन्द्र बानियाँले जानकारी दिए । मङ्गला कन्ट्रक्सनले रु ४६ लाख २९ हजार १२४ मा माघ २ गते ठेक्का सम्झौता भएको चन्निका घुम्तीदेखि उपल्लो तुसारेपानी कुहँ सडक स्तरोन्नति र ओमेन ओस्कार निर्माण सेवाले ठेक्का पाएको गैराखेतदेखि मालिका मन्दिर र दरवाङ–लामेला–आल्काचौर सडक स्तरोन्नति योजना लक्ष्यअघि नै सम्पन्न भएका हुन् ।
यसैगरी रुप्से बिल्डर्स प्रालिले ठेक्का पाएको ज्ञानप्रकाश माविदेखि कोट खलङ्गा हँुदै ठारा, घारखोला नेपाने र तिप्ल्याङ–बादुक सडक योजना पनि समयअघि नै सम्पन्न भएको कार्यालय प्रमुख बानियाँले बताए । यी सालबसाली योजनाको ठेक्काको समय अवधि यही जेठ १५ गतेसम्म रहेको थियो ।
लक्ष्यअघि नै योजना सम्पन्न गरेका व्यवसायीलाई प्रोत्साहनका लागि गणतन्त्र दिवस–२०८३ को अवसरमा गत शुक्रबार बेनीमा कार्यालयको तर्फबाट सम्मानसमेत गरिएको छ ।