काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले शुद्ध खानेपानीदेखि राजमार्गमा सार्वजनिक शौचालयको व्यवस्थापन गर्नुपर्नेलगायतका जनसरोकारका विषय उठान गरेका छन् ।
सांसद आशिका तामाङले राजमार्गमा प्रत्येक एक सय मिटरको दूरीमा सार्वजनिक शौचालय निर्माण गर्न माग राखिन् । सांसद अम्बिका विकले पानी उत्पादन गर्ने कम्पनीलाई गुणस्तरता कायम गर्न र पिउने योग्य पानी आमनागरिकको पहुँचमा पुग्न सक्ने वातावरण सिर्जना गर्न माग गरिन् ।
सांसद अनुष्का श्रेष्ठले नेपाल सरकारको सबै वेबसाइटलाई चुस्त र प्रभावकारी बनाउनु आग्रह गरिन् । सांसद डा अमरेशकुमार सिंहले सुशासनको लागि राष्ट्रिय सदाचार नीति अवलम्बन र सरकारी सार्वजनिक गुठी जग्गाको प्रतिवेदन कार्यान्वयन गर्न माग गरिन् ।
सांसद अम्बिकादेवी सङ्ग्रौलाले विभिन्न संस्थामा हाल रिक्त भएका पदहरु पूर्ति गर्न माग गरिन् । सांसद अरबिन्द साहले शिक्षा, स्वास्थ्य, मालपोतलगायत क्षेत्रको सेवामा गुणस्तर कायम हुनुपर्ने बताए । सांसद डा अर्जुनकुमार कार्कीले शिक्षा प्रणालीको सुधारबारे शिक्षकको उच्च मनोबल बढाउन आग्रह गरे। सांसद अर्जुननरसिंह केसीले जनताप्रति प्रधानमन्त्रीको जवाफदेहिताको माग गरे । सांसद आकृति अवस्थीले विमानस्थलहरुमा हुने उडानको ढिलाइका कारण यात्रुहरुले भोग्नुपरेको सास्तीबारे ध्यानार्कषण गराए ।
सांसद आनन्दबहादुर चन्दले तरकारी विषादी जाँच प्रयोगशालाको गुणस्तरीयताको विषय उठाए । सांसद् आरेन राईले बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ? भनी प्रश्न गर्नुभयो ।
सांसद आशा झाले जीर्ण अवस्थामा रहेको विराटनगर जुटमिल सञ्चालन गर्न जोड दिए । सांसद ऐनबहादुर महरले सरकारको बजेट, नीति तथा कार्यक्रममा बझाङ जिल्ला समेटिनुपर्ने बताए । सांसद ओजस्वी शेरचनले मेडिकल क्षेत्रमा कार्यघण्टा व्यवस्थित गर्न र उचित पारिश्रमिक व्यवस्थापन गर्न माग राखे।