सिलिगुडी । नेपाल–भारत आर्थिक सहकार्यलाई थप सुदृढ बनाउँदै क्षेत्रीय साझा समृद्धिलाई प्रवद्र्धन गर्न आवश्यक रहेको नेपाल र भारतका व्यवसायिक नेतृत्व तथा नीतिनिर्माताहरूले जोड दिएका छन् ।
भारतको सिलिगुडीमा आयोजित उच्चस्तरीय द्विपक्षीय संवादमा सहभागीहरुले उक्त धारणा राखेका हुन् ।
‘साझा समृद्धिका लागि नेपाल–भारत आर्थिक साझेदारी सुदृढीकरण’ विषयक उक्त संवादको संयुक्त आयोजना एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्स (आइडा)र कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआआइ) नर्थ बंगाल जोनल काउन्सिलले गरेका थिए।
कार्यक्रममा विशेषगरी पूर्वी नेपाल र भारतको पश्चिम बंगालबीच व्यावहारिक तथा कार्यान्वयनयोग्य नीतिगत पहलमार्फत आर्थिक सहकार्य विस्तार गर्न सकिने अवसरहरूबारे छलफल गरिएको थियो।
संवादको उद्घाटन गर्दै नेपाल–भारत उद्योग वाणिज्य संघ –निक्की)का उपाध्यक्ष कुनाल कयालले नेपाल र भारतबीच विश्वकै अद्वितीय आर्थिक तथा जनस्तरको सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय आर्थिक सम्भावनाको पूर्ण उपयोगका लागि संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।
कार्यक्रममा बोल्दै सीआइआइ नर्थ बंगाल जोनल काउन्सिलका अध्यक्ष सतीश मित्रुकाले नेपाल र भारतबीच रहेको विशाल सम्भावनालाई मूर्तरूप दिन यस्ता संवादहरू काठमाडौं र सिलिगुडीमा नियमित रूपमा आयोजना गर्नुपर्ने सुझाव दिए।
त्यसैगरी, सीआइआइ नर्थ बंगाल जोनल काउन्सिलका उपाध्यक्ष अमल मण्डल, रुरल हेरिटेज कन्जर्भेसन टुरिज्मका सुप्रतिम (राज)बसु तथा किन्स हस्पिटलका संस्थापक सुमित सिन्हालले पर्यटन तथा मेडिकल शिक्षालगायत नेपाल र भारतले सहकार्यमार्फत प्राप्त गर्न सक्ने विविध अवसरहरूबारे प्रकाश पारे।
त्यस्तै, आइइसी गु्रप नेपालकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, आइआइएएस स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल डा केभी राजेन्द्रन नैयर तथा ग्लोकलका अध्यक्ष आशिष ठाकुरले पश्चिम बंगाल र नेपालबीच शिक्षा क्षेत्रमा रहेका अवसर तथा सम्भावित सहकार्यका विषयमा आफ्ना धारणा राखे।
मोरङ उद्योग संघका वरिष्ठ उपाध्यक्ष अनिल कुमार शाहले उक्त अवसरमा पूर्वी नेपाल र पश्चिम बंगालबीच व्यापार तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो अनुभव र दृष्टिकोण ब्यक्त गरे।
सत्रको सहजीकरण गर्दै सीआइआइ उत्तर बंगाल जोनल काउन्सिलअन्तर्गत रियल इस्टेट तथा लजिस्टिक प्यानलकी अध्यक्ष लक्ष्मी लिम्बु कौशलले आइडा र सीआइआइ उत्तर बंगालबीचको यस्तो संयुक्त पहल केवल सुरुआत मात्र भएको बताइन्।
उनले भनिन्, ‘यसले व्यवसायिक नेतृत्वकर्ताहरूलाई एकै ठाउँमा ल्याएर उनीहरूले अनुभव आदानप्रदान गर्दै सँगै अघि बढ्न सक्नेछन्।’
कार्यक्रममा प्रतिनिधिसभा सदस्य पारसमणि गेलालले व्यापार तथा आर्थिक सम्बन्ध प्रवद्र्धनमा आफ्नो दल र नेपाल सरकारको भूमिकाका साथै वर्तमान सरकारले अवलम्बन गरेका पहलहरूबारे जानकारी गराए।