काठमाडौं। दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पाक्षमावतीमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ। जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनमार्फत नगरपालिकामा एक करोड पचास लाख रुपियाँभन्दा बढीको लागतमा सुविधासम्पन्न स्वास्थ्य चौकी निर्माण सम्पन्न भएको हो।
बर्थिङ सेन्टरका लागि आवश्यक पूर्वाधारसहितको स्वास्थ्य चौकी निर्माण सम्पन्न भई हस्तान्तरण भएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जानकारी दिएको छ। सबै पूर्वाधार निर्माण भइसकेकाले अब छिट्टै बर्थिङ सेन्टर सञ्चालनमा आउनेजनाइएको छ। भवन बन्नु अघि जस्ताले बनेको टहरोमा स्वास्थ्य चौकी सञ्चालन भइरहेको थियो।
उक्त स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय नवराज शिवाकोटीले आफ्ना स्वर्गीय बुवा सदानन्द शिवाकोटी तथा आमाहरू काशिरूपा शिवाकोटी, मानकुमारी शिवाकोटी तथा चन्द्रकुमारी शिवाकोटीको सम्झनामा एक रोपनी र स्थानीय केशवप्रसाद शिवाकोटी, दीपकराज शिवाकोटी, सरस्वती शिवाकोटी तथा शिवहरि शिवाकोटीले संयुक्त रूपमा आफ्ना स्वर्गीय बुवा रामप्रसाद शिवाकोटी तथा आमा धनकुमारी शिवाकोटीको नाममा दुई रोपनी जग्गा स्वास्थ्य चौकीलाई दान गरेका थिए।