सुर्खेत। निर्धारित समयभित्र सडक तथा पुल निर्माणको काम सम्पन्न नगरेपछि सडक डिभिजन कार्यालय सुर्खेतले चार निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गरेको छ।
कार्यालयका सूचना अधिकारी रुपेश केसीका अनुसार पटक–पटक लिखित तथा मौखिक ताकेता, निर्देशन र म्याद थप गर्दा पनि काममा अपेक्षित प्रगति नभएपछि सार्वजनिक खरिद ऐन, २०६३ र ठेक्का सम्झौताअनुसार सम्झौता रद्द गरिएको हो।
सम्झौता अन्त्य गरिएका आयोजनाहरूमध्ये सहारे स्वास्थ्यचौकी–बेतेनी सडकअन्तर्गत गोचे खोलामाथि प्रि–स्ट्रेस्ड आरसिसी मोटरेबल पुल निर्माणको जिम्मा एमएस एड्भेन्चर जेभी बाँकेले पाएको थियो। त्यसैगरी, गुमी–पातिहाल्ना सडकअन्तर्गत भलुकुने खोलामा प्रिस्ट्रेस्ड आरसिसी पुल निर्माणको जिम्मा जयबुद्ध–नेपाल मेगा बिल्डर्स जेभी सुर्खेतलाई दिइएको थियो।
सुर्खेत–जुम्ला सडकअन्तर्गत दैलेखको खुर्रा खोलामा आरसिसी पुल निर्माणको ठेक्का टिडीआर कन्स्ट्रक्सन प्रालि धनगढीले लिएको थियो भने रत्न राजमार्गअन्तर्गत हर्रे–बाङ्गेसिमल खण्डमा सडक पुनःस्थापना, नाला निर्माण तथा सडक संरक्षणको काम जनता बिल्डर्स भेरीगङ्गा–९ सुर्खेतले गरिरहेको थियो। यी चारवटै आयोजनामा सन्तोषजनक प्रगति नभएपछि ठेक्का सम्झौता अन्त्य गरिएको सूचनामा उल्लेख छ।
सडक डिभिजनले कानुनी प्रक्रिया पूरा गर्दै सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी क्षति असुलउपर गरिने जनाएको छ। साथै, सूचना प्रकाशित भएको १५ दिनभित्र कार्यालयमा सम्पर्क गरी वित्तीय फरफारक प्रक्रिया पूरा गर्न सम्बन्धित कम्पनीलाई आग्रह गरिएको छ।